काभ्रेपलाञ्चोक । शिक्षा लिन पाउनु हरेक बालबालिकाको अधिकार हो । सरकारले केही वर्ष अगाडि शिक्षा क्षेत्रलाई कुनाकाप्चासम्म फैलाएर बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नदिने नीति अँगालेको थियो । तर अहिले विद्यालय मर्ज तथा दरबन्दी मिलानको बहानामा देशका विभिन्न विद्यालयका सयौँ बालबालिकाको भविष्य माथि खेलवाड भैरहेको छ ।

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं १ मा रहेको श्री त्रिवेणी प्राथमिक विद्यालयमा प्रधानाध्यापक र अध्यक्षका मनोमानीका कारण विद्यालयको भविष्य अन्धकारमय बनेको छ । विद्यालयमा  पहिलैदेखि चरम लापरवाही र आर्थिक अनियमितता भएको भन्दै केही समय अगाडि त्यहाँका स्थानीयले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए । सम्बन्धित निकायको ध्यानाकर्षण गराउदा पनि स्थानीयका गुनासा तथा अनियमितताको सम्बोधन गर्न सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको आरोप रहेको छ । विद्यालयका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाले लापरवाही स्वीकार्दै स्थानीयसँग माफी मागे पनि आर्थिक अनियमितताको मुद्धा भने सल्टिन सकेको थिएन । सोही क्षेत्रका विद्यालय निरीक्षक बाबुराम तिमल्सिनासँग जानकारी लिँदा कुनै पनि किसिमको अनियमितता नभएको र विद्यालय सञ्चालन हुने बताएका थिए ।  पछिल्लो समय स्थानीयलाई कुनै जानकारी, सहमति तथा सल्लाह बिना नै त्रिवेणी प्रा.वि.मा कार्यरत शिक्षक तथा कर्मचारीलाई त्यस ठाउँबाट २ घण्टाको दुरीमा रहेको भैरव माध्यामिक विद्यालयमा हाजिर हुनु भनी जानकारी गराएको श्रोतले बताएको छ । विद्यालयमा तुलनात्मक रुपमा विद्यार्थी कम भएपनिपनि सबै साना भएका र २ घण्टाको बाटो विद्यालय जान नसक्ने भएकाले विद्यार्थीको भविष्य संकटमा परेको स्थानीयको भनाई रहेको छ । छोटो समयमा नै दोधारे कुराले विद्यालय निरीक्षकको नै अनियमिततामा साँठगाँठ रहेको स्थानियको आरोप रहेको छ । यस अघि विद्यालयमा शिक्षक नियुक्तिमा प्र.अ. तथा वि.व्य.स. अध्यक्षको मात्र मिलोमतोमा विद्यालयका व्यवस्थापन समितिका अन्य सदस्यलाई समेत जानकारी नदिई सुटुक्क गरेको स्थानीयले जनाएका छन् ।

त्यस्तै विद्यालयको जग्गाको लालपूर्जा पनि प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले अहिले सम्म नदेखाएको र पूर्जा छ कि छैन पनि स्थानीयलाई सम्म पनि जानकारी नभएको स्थानीयको आरोप रहेको छ । स्थानीयले पटक पटक विद्यालयको लालपूर्जा देखाउन माग गर्दा समेत विद्यालयले आलटाल गर्दै आइरहेको छ । हाल विद्यालय रहेको जग्गाको विषयमा स्थानीयले आफ्नो भनि दाबि गर्दै आएकाले बेला बेलामा तनाव समेत उत्पन्न हुने गरेको छ ।  पछिल्लो समय विद्यालयको अनियमितता बाहिर सार्वजनिक भएपछि हतार हतारमा राजनीतिक दल तथा विद्यालय निरीक्षकसमेतको मिलोमतोमा विद्यालय मर्ज गर्न लागिएको आरोप स्थानियको रहेको छ । त्यसैले अनियमितता र चरम लापरवाही बारे उचित छानबिनसमेत हुनुपर्ने माग त्यहाँका स्थानीयको माग रहेको छ ।


तपाईको प्रतिक्रिया