काभ्रेपलाञ्चोक । परम्परागत कृषि प्रणालीमा आश्रित रहेका काभ्रेको मण्डन देउपुर नपा–१० चण्डेनीका कृषक सोमवार हर्षित देखिन्थे । आकाशे पानीको खेतीमा निर्भर किसानहरु समयमै खेती गर्न सक्दैनथे । गाँउभरीमा गोरु भेट्टिनै मुस्किल पर्न थालेपछि उनीहरु परम्परागत खेतीको विकल्पमा जुट्दै थिए ।

सोमवार कारितास नेपालले चण्डेनी मण्डन–१० जोगिटारका १ सय घरपरिवारलाई लक्षित गरेर हाते ट्याक्टर वितरण गरेसँगै उनीहरुमा कृषिप्रतिको आकर्षण बढ्दै थियो । जोगिटारमा रहेका सिमान्तकृत माझी समुदाय र कृषिमा आश्रित रहेका गरिब कृषकहरुका लागि कारितास नेपालले सोमवार सात ओटा ट्याक्टर हस्तान्तरण गरेसँगै कृषकहरुमा उर्जा थपिएको छ ।
‘कृषिमा औधी लगाव देखेपछि उहाँहरुकै छनौटको आधारमा किसान साथीहरुलाई कृषि उपकरण वितरण गरेका हौ’ कारितास नेपालका जिल्ला संयोजक सुवास नेपालले बताए । भुकम्पपछि कारितासले बल्थली र चण्डेनी मण्डनमा पुनः निर्माणसँगै जिविकोपार्जनमा काम गरिरहेको छ ।

ट्याक्टर पाएसँगै स्थानीय कृषकहरुले आफूहरुले समयमै खेती गर्न पाउने बताएका छन् । कृषक भगवती नेपालले आफूहरुको खेती कार्यमा पाएको ट्याक्टरले सहयोग मिल्ने बताईन् । ‘गोरु खोज्न भौतारिने गरेका थियौ,समयमा तरकारी लगाउनै पाईनथ्यो अब समयमै तरकारी खेती गर्न पाउने भयौ’ नेपालले खुसी व्यक्त गर्दै सुनाईन् । काभ्रेको चण्डेनी मण्डन तरकारी उत्पादनको पकेट क्षेत्र मानिदै आएको छ । कृषिमा यान्त्रिकरणको अभावमा किसानहरुले राम्रोसँग तरकारी उत्पादन गर्न सकिरहेका थिएनन् । मण्डन देउपुर नपा–१० का वडाध्यक्ष विष्णुमणी नेपालले कृषकलाई फाईदा पुग्ने हिसावले कारितासले गरेको सहयोगवाट कृषकले कृषिकर्ममा सहयोग मिल्ने बताए ।


तपाईको प्रतिक्रिया