(सुरज श्रेष्ठ) बेथानचोक, जेठ १९ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित ढुंखर्कमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन समिति, बेथानचोक समन्वय समिति ढुंखर्कले आयोजना गरिएको ‘प्रथम काभ्रे आलु महोत्सव २०७५’ को उद्घाटन गर्दै मन्त्री गोकुल बाँस्कोटाले देशलाई आत्मनिर्भर बनाउनको लागि कृषि नै पहिलो आधारशिला भएको बताए ।

अब राजनीतिक पार्टीहरु पनि आपसमा आरोप प्रत्यारोप छोडेर बेथितिको विरुद्ध एउटै आवाज सहित सहकार्य र उत्पादनतर्फ लाग्नुपर्ने यसै आर्थिक बर्षको बजेटमा कृषि, पर्यटन, उर्जा र यातायात गरी चार वटा पिलरलाई लिएर विकासको गतीमा अगाडी बढ्ने सरकारको योजना रहेको र संसार नै सूचना प्रविधिको युग भएकाले कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरेर अमुल्य परिवर्तन गर्न सरकार लागिपरेको बताए । यो “युव नव निर्माणको युग हो” देश धनि हुँदै जाँदा राजनीतिक मुद्धा कमजोर हुँदै जाने भएकाले त्यसतर्फ सबै लागेको, बर्षौदेखि नचलेको सूचना प्रविधि (आईटी) पार्कमा हजारौं विद्यार्थीले पढ्न पाएको र सयौंले जागिर पाएको केन्द्र बताउने र विकासको लागि दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको मन्त्री गोकुल बाँस्कोटाले बताए ।

कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले किसानहरुलाई ब्यवसायिकरण गर्न सरकारले जोड दिनुपर्ने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोनको कार्यालय बनेपाका प्रमुख किशोर पन्तले बाहिर देशबाट भित्रिएको आलुसंग प्रतिस्पर्धा गर्न ब्यवसायिक खेतितर्फ किसानलाई डो¥याउनको लागि आलु सुपरजोनले काम गरिरहेको बताए । जिल्लाका किसानहरुले बीस बर्ष अगाडिदेखिको आलुको वीउ प्रयोग गर्दै आएको ढुंखर्क क्षेत्र आलुको वीउ उत्पादनको लागि निकै उपयुक्त क्षेत्र भएकोले पनि बेथानचोकमा आलु महोत्सव गरी किसानलाई आकर्षण गर्न सो महोत्सव आयोजना गरिएको उल्लेख गरे । सो क्रममा आलु खेति गर्ने किसानहरुमध्येका उत्कृष्ट पाँच जनालाई नगद पाच हजार (५०००) सहित सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पाँचखालका यावदप्रसाद अधिकारी, बनेपाका राजेशप्रसाद श्रेष्ठ, बेथानचोकका कृष्णप्रसाद तिमल्सिना, भक्तपुरका शेखरप्रसाद दुलाल र पनौतीका देवकृष्ण मानन्धर रहेका छन् । महोत्सवमा आलुका विभिन्न परिकारहरु, कृषिसंग सम्बन्धीत बृत्तचित्र प्रदर्शनी, तथा कृषि सम्बन्धी दोहोरी गीत लगायत रहेको थियो ।


तपाईको प्रतिक्रिया