(केशव राज पौडेल) काभ्रेपलाञ्चोक । शहरवाट आएको नातीले ढिडो खाने रहर गरेपनि मण्डन देउपुर–८ कटहरबारीकी ६४ बर्षिया हरिमायाँ पौडेलले नातीलाई ढिडो खुवाउनै सकिनन् । उनको घरमा रहेको मकैभरी घुनैघुन थिए । ‘पहेलो मकै घुनले खाएर खोक्रो थियो, त्यस्तो मकै पिधेर नातीलाई के खुवाउनु भनेर ढिडो खुवाउन सकिन’ पौडेलले दुखेसो पोखिन् । केही बर्ष अघिसम्म उनको घरको मकैको कून्युमा घुन देख्न समेत मुस्किल पथ्र्याे । ‘मकै आफूलाई खान पशुहरुलाई खोष्टा खुवाउन र मकैको खोया बर्षादमा ईन्धनको रुपमा प्रयोग गर्ने गरेका थियौ, अब खान पनि भएन पशुलाई खुवाउनै नहुने भयो’ पौडेलले भनिन् ।

एक दशकअघिसम्म पहेलो स्थानीय जातको मकै लगाउने पौडेलले केही बर्षअघिवाट भित्रिएको हाईब्रिडले समस्या पारेको बताईन् । ‘उत्पादन बढ्ने आशामा हाईब्रिडमा सुरुमा आकर्षण भएसँगै बिउकै कारण परनिर्भर बनेको छौ’ पौडेलले दुखोसो पोखिन् । मुरली मकै भुटेर खाँदा गाँउभरिनै बास्ना आउने सम्झना गर्छन्, काभ्रे बेथानचोक–२ का रामप्रसाद तिमल्सिना । ‘अब सपनामात्रै हुने भयो हाम्रो मुरली मकैको बिउ पोलेर खायौ अहिले टाउको हात राख्नुको विकल्पनै छैन ।’ उनको बारीमा जेठवाटै लहलह काक्रो फलिरहेका हुन्थे । केही बर्षदेखि हाईब्रिडमा आकर्षित भएसँगै पुरानो काक्रोको बिउ मासिएर अहिले काक्रोको बोट जमिनवाट माथि उठ्न नसक्दा तिमल्सिनासँगै सिंगो ढुंखर्क गाँउनै समस्यामा परेको छ ।
‘सोह्र श्राद्ध तिथी र चाडपर्वमा मादलजत्रा काक्रो काँटेर अचार बनाईथ्यो,दशै तिहारमा अचारको प्रयोग गरिन्थ्यो अहिले लोकल काक्रोनै पाउनै मुस्किल पर्याे’ पातलेखेतका विष्णु धितालले सुनाए । काभ्रेमा रहेका १३ ओटै स्थानीय तहका साविकका गाँउ विकास समिति र नगरपालिका बिउमा आत्मनिर्भर भएपनि पछिल्लो समय रैथाने बिउ माँसिदै गएपछि किसान हाईब्रिडमै भर पर्न थालेका छन् । हाईब्रिडले सुरुका केही बर्ष राम्रो उत्पादन दिएपनि त्यसले पर्यावरण र साँस्कृतिक जीवनमै असर पार्न थालेको छ । केही बर्षअघिसम्म गाँउका घरैपिच्छे काक्रो र फर्सी झुण्डिएका हुन्थे तर पछिल्लो समय अधिकाशं रैथाने बिउ लोपनै भएपछि जैविक विविधतालाई असर पारेको छ जिल्ला कृषि विकास कार्यालयका कृषि प्रचार अधिकृत कृष्ण धितालले बताए ।


‘केही बर्षअघिसम्म बिउमा आत्मनिर्भर रहेको काभ्रे जिल्ला हाईब्रिडकै भर पर्न थालेको छ,त्यसले उत्पादनमा ह्रासमात्रै्र ल्याएको छैन करोडौ रुपैयाको बिउ भारतवाट ल्याउनु पर्ने बाँध्यता सृजना गरेको छ’ प्रचार अधिकृत धितालले सुनाए । काभ्रेमा भौगोलिक परिवेश अनुसार मकैका १५ ओटाभन्दा धेरै स्थानीय रैथाने जात थिए । धानका अनगिन्ती, कोदो, दाल, सिमी,तोरीसम्मका स्थानीय जातलाई हाईब्रिडले प्रतिस्थापन गरेको छ । एक बर्षमा काभ्रेमा १० करोडभन्दा धेरैको बिउ भित्रने गरेको छ । काभ्रेमा राताजरे, कालो मारसी, टाईचिन, गोलो मारसीका स्थानीय रैथाने जातको धानवाट पाकेको भात खाँदा दिनभर भोक लाग्दैनथ्यो तर अहिलेका हाईब्रिड खाएको एक घन्टामै भोक लाग्न थाल्छ काभ्रेको डाँडापारिका सुरथसिं लामाले भने । काभ्रेमा हिमाली, चौसठ्ठी,पोखरेली, मनसुलीजस्ता रैथाने धानका बिउहरु हुन्थे । हत्तपत्त रैथाने बिउहरु रोपेको खेतीमा रोगले समाउँदैनथ्यो तर पछिल्लो समय भित्रिएका हाईब्रिडमा बिषादी नहाली बाँच्नै सक्दैनन् पनौतीका भिमसेन केसीले भने ।

के–हो रैथाने किन आवश्यक छ रैथाने ?
उन्नत नश्लको बिउ तयार पार्नको लागि राम्रो तयारी गरिएको हुन्छ तर स्थानीय अर्थात रैथाने जात आफै उत्पन्न भएको जात हो । सदियौदेखि यहाँको माटोमा निरन्तर आफूलाई जोगाउन सफल भएको जात रैथाने हो । तर हाइब्रिड जात होस् वा उन्नत जात, बिउ तयार गर्दा विभिन्न जातका बालीहरुको राम्रा गुणहरु मिलाएर बनाउने कृषि प्राविधिकहरुले बताएका छन् । यो सबै प्राणीहरुका राम्रा अंङ्ग निकालेर बनाइएको उट जस्तै हो ।

उन्नत र हाईब्रिड जातको बिउले दीर्घकालीन रुपमा उत्पादन नदिने भन्दै उनले भने, भावी सन्ततिका लागि बिउको संरक्षण गर्नु भनेको रैथाने बिउको संरक्षण हो ।
रैथानेप्रति अविश्वास हाईब्रिडमा विश्वास काभ्रेको डाँडापारिमा फलेको मकैलाई घट्टमा पिधेर शहरमा ल्याएर बेच्दा एक किलोकै ७० रुपैयामा बिक्ने गरेको छ । डाँडापारि मिल्चेका प्रदिप तामाङ परम्परागत बिउको प्रयोग गरी लट्टे र फापर रोप्ने गर्दछन् । उनले यसरी उत्पादन भएका लट्टे र फापर काठमाण्डौंसम्म पुगेर बिक्री हुने गरेको छ । तेमालकी सावित्री तामाङले परम्परागत सेतो मुरली मकै र जुनेलो ५ रोपनी बारीमा रोपेकी छिन् । उत्पादन कम भए पनि राम्रो आम्दानी हुने केही किसान बताउँछन् । तर अधिकाशं किसानले भने रैथाने बिउ उत्पादनै नहुने भन्दै रैथानेलाई विश्वासै गर्न छाँडेका छन् ।

रैथाने जोगाउने प्रयास
मौसम परिवर्तनसँगै किसानले रोप्दै आएको रैथाने अन्नबाली विस्थापित भएपछि कृषि अनुसन्धान परिषद्ले वातावरणअनुकूल बिउ बाली उत्पादन सुरु गरेको छ । काभ्रेको महादेवस्थानको चनौटे फाँटवाट यसको प्रयोग भएको हो । रैथाने बालीबाट उत्पादन हुन छाडेपछि परिषद्को कृषि वनस्पति महाशाखाले वातावरणअनुकूल बिउ उत्पादन सुरु गरेको हो । पुराना बिउ र पुरानै खेतीप्रणालीले विशेषगरी धान, मकै र गहुँ उत्पादनमा दोब्बर कमी भएपछि वातावरणअनुकूल बिउ उत्पादन गरी खेती विस्तारमा जोड दिएको छ । सुक्खा, बढी पानी, भूक्षय र बाढीको माटो सहनसक्ने प्रकारका बालीको बिउ उत्पादन गरिएर किसानमा प्रयोग समेत भएको छ ।
मौसमविद्का अनुसार मौसम परिवर्तनको असरले धेरै पानी पर्ने, भूक्षय हुने र लामो समयसम्म खडेरी पर्ने गरेको छ । परिषद्ले वातावरणलाई ख्याल गर्दै मध्यपहाडमा रोप्न मिल्ने गरी सुक्खा १, २, ३, ४, ५ र ६ जातका धानको बिउ आविष्कार गरी किसानलाई वितरण गरेको छ ।

अमिलटारीमै बार्षिक ५ करोडको बिउ
तेमाल गाँउपालिका अमलटारका गगनबहादुर भण्डारीलाई २०६४ सालतिर छिमेकीसँग तरकारी मागेर छाक टार्ने गरेको घटना अझै पनि ताजै छ । ‘मेरो त परिवार पनि १२ जनाको थियो, तरकारी यसै पनि धेरै लाग्ने, उनले भने,पाहुना त नआए पनि हुन्थ्यो जस्तै लाग्थ्यो, छिमेकीले एउटा बन्दाकोपी दियो भने ३ छाकसम्म पुराएर खानुपथ्र्याे ।  तर, १० वर्षपछि उनै भण्डारी अहिले तरकारी बिक्रीबाट मात्रै लाखौं कमाउँछन् । मुख फेरेर तरकारी खान निकै मुस्किल पर्ने उनको परिवारले छाकैपिच्छे नयाँ तरकारी खान पाएका छन् । उनी आफूले तरकारी मात्रै लगाएका छैनन् । अरूलाई समेत बीउ उत्पादन गरेर दिन्छन्। अघिल्लो वर्ष तरकारी बीउ र ताजा तरकारी बिक्री गरेर ४ लाख रुपैयाँ आम्दानी भएको उनले बताए । ‘परिवार नै यही कृषिले धानेको छु, उनले भने नयाँ सीप र ज्ञान लगाउने हो भने कृषिबाट राम्रो आम्दानी लिन सकिन्छ ।
नयाँ संरचनाअनुसार तेमाल गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने सस्र्यूंखर्कका सयौं किसानको मुहार तरकारीले नै फेरिदिएको छ । केही वर्षअघिसम्म छिमेकीसँग सहर बजारबाट तरकारी किनेर छाक टार्ने सस्र्यूंखर्कका कृषकले अहिले दैनिक ताजा तरकारी सहरमा पठाइरहेका छन् । जिल्लामा उत्पादन हुने मुला र प्याजबाहेक अन्य तरकारीको बीउ पनि उनीहरू आफैं उत्पादन गर्छन् । अमलटारीका २५० भन्दा बढी किसानले ५ सय रोपनीमा व्यावसायिक पालुङ्गोको बीउ उत्पादन गरिरहेका छन् । । चुखाका कृषकले केराउ, सिमी, बकुलाको बीउ उत्पादन गरेर आम्दानी गरिरहेका छन् । हामी तरकारीमात्रै फलाउँदैनौं, बीउ पनि उत्पादन गरेर बिक्री गर्छौ चुखाका चमारसिंह लामाले भने,‘सिँचाइ र नयाँ प्रविधि भित्रयाउन सकियो भने उत्पादनमा निकै वृद्धि गर्न सक्छौं । पहिले सिजनमा कोदो, मकै, जौ, गहुँ फल्ने बारीमा हिजोआज काउली, बन्दा, गोलभेंडा, सिमी, चमसुर, पालुंगोजस्ता तरकारी उत्पादन गरेर यहाँका कृषकले मनग्य आम्दानी बढाइरहेका छन् । सिँचाइ पुगेको ठाउँमा खेतबारी कसैको बाँझो छैन । सस्र्यूखर्कमा बीउ उत्पादनबाट मात्रै वार्षिक १ करोड रुपैयाँ भित्रिरहेको बीउको कारोबारमा संलग्न लाइफ सिड उद्योगका प्रबन्धक कालीप्रसाद पाण्डेले बताए । यहाँका कृषकले अहिले पालुङ्गो, काँक्रो, तितेकरेला, फर्सि, गोलभेडा, चमसुर, मुला, अकुबरे खुर्सानी, घिरौंला, लौका, चिचिण्डा, भिण्डी, सिमी लगायत जातका १ सय मेक्ट्रिक टन तरकारीको बीउ उत्पादन गरिरहेका छन् । बीउ र ताजा तरकारी फलाएर यहाँका कृषकहरूले वार्षिक ५ देखि ६ करोड रुपैयाँ भित्राउँदै आएका छन् ।

स्थानीय निकाय मौन
कृषिका कार्यक्रम स्थानीय तहमा पुगेपनि काभ्रेमा स्थानीय निकायले रैथाने बिउ जोगाउने कार्यक्रम ल्याउनै सकेको छैन । काभ्रे कृषिको जिल्लाको रुपमा परिचित रहेपनि काभ्रेमै करोडौको बिउ किसानले भित्राए पनि स्थानीय निकायले खासै ध्यान दिन सकेको छैन ।

हाईब्रिडमा समस्यानै समस्या
गतल बिउले किसानलाई बर्षैपिच्छे चिन्ता
अघिल्लो बर्ष आकाशै छुने मकैको वोट र अर्काेतिर ४ ओटासम्म घोगा लागेपछि काभ्रेका किसान समस्यामा परेका थिए । जिल्ला कृषि विकास कार्यालय काभ्रेको सिफारिसमा स्थानिय सहकारीहरु मार्फत मकैको बिउ खरिद गरेका किसान मकैको उत्पादन कस्तो हुने हो भन्ने चिन्तामा परेका उनीहरु उत्पादन कम भएसँगै मकै किनेर पशुहरुलाई खुवाउन विवश बनेका थिए । हरेक बर्ष काभ्रेका मकै लगाउने किसान ढुक्कले खेतीनै गर्न सक्दैनन् कारण उनीहरुले लगाएको हाईब्रिडमा उनीहरुको भर छैन । बाली नफले उनीहरुले कुनै पनि क्षतीपुर्ति समेत पाउन सकेका हुँदैनन् । काभ्रेको प्रमुख बालीका रुपमा लगाईने मकै खेतीले काभ्रेका ६० प्रतिशत जनताको पेट पाल्ने गरेको छ । घरमा नभित्राएसम्म बिउमा किसानले भर गर्न सकेका छैनन् ।


तपाईको प्रतिक्रिया