काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु सदाझैं आज पनि विविध सूचना, जानकारी, विचारलगायत सामग्रीका साथ पाठकसमक्ष आएका छन् । अखबारहरुले आज भिन्न भिन्न विषयहरुलाई पहिलो पृष्ठमा समेटेका भए पनि प्राथमिकतामा भने प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण परेको छ । प्रधानमन्त्री केपी ओलीलगायत उनका मन्त्रिपरिषदका २२ सदस्यले नियमभन्दा केही ढिलो गरी सम्पत्ति विवरण बुझाएका थिए । पत्रपत्रिकाहरुले प्रधानमन्त्री तथा मन्त्रीद्वारा पेश गरिएको सम्पत्तिको फेहरिस्तलाई विभिन्न शीर्षक उपशीर्षक दिएर चर्चा परिचर्चा गरेका छन् ।

सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बुधबारदेखि प्रतिनिधिसभामा छलफल शुरु भएको छ । संसदमा शुरु भएको नीति तथा कार्यक्रमबारेको छलफललाई सबैजसो पत्रपत्रिकाहरुले नछुटाइकन छापेका छन् । जारी छलफलको पहिलो दिन कांग्रेसले नीति आएको तर कार्यक्रम नआएको टिप्पणी गरेको छ । यसका अतिरिक्त सगरमाथाको चुचुरोमा ४ महिला पुगेको, विदेशीमाथिको निगरानी बढाउने सोचमा सरकार पुगेकोलगायतका खबरहरुले पनि आजको पत्रपत्रिकामा उत्तिकै स्थान पाएका छन् ।

हेरौं आजका  समाचार

कान्तिपुर  – सबैजसोले अधिकांश जिन्सी तथा नगद सम्पत्ति श्रीमतीको नाममा देखाएका छन् । सबै विवरण हेर्दा मन्त्रीजति गरिब, श्रीमतीहरु भने धनी देखिन्छन् ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार विदेशी अनुगमन निर्देशिका पारित भएसँगै नेपालमा बस्ने विदेशीको गतिविधि निगरानी गर्ने र आवश्यक परे खराब आचरणका विदेशीलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयलाई बाटो खुलेको छ । केन्द्रीय गृहमन्त्रीको अध्यक्षतामा विदेशी नागरिक अनुगमन समिति बनेको समाचारमा उल्लेख छ ।

नेपाली कामदारमाथि आर्थिक भार पर्नेगरी मलेसियाले खडा गरेका संयन्त्र खारेज गर्ने नेपाल सरकारको निर्णयप्रतिम लेसियाको नयाँ सरकार सकारात्मक देखिएको कान्तिपुरमा समाचार छ ।

कान्तिपुर लेख्छ– फरक फरक समयमा दायर यी दुई मुद्दाका विषय एउटै हो– संगठित सुन तस्करी । अझ कतिपय प्रतिवादी दुवै मुद्दामा उही छन् । विशेष अनुसन्धान समितिले पनि यी घटालाई ०६९ देखिकै शृंखला भएको दाबी गरेको छ । यसरी उही प्रकृतिको प्रतिवादीसमेत उही रहेका मुद्दामा वादी र प्रतिवादी दुवै पक्षबाट रमन श्रेष्ठले बहस गरिरहेका छन् ।

करिब १० जनाको समूहसहित हातपात प्रयास गर्ने मन्त्रीका स्वकीय सचिव डम्बर बुढालाई प्रहरीले चार घण्टा नियन्त्रणमा लिएको कान्तिपुरमा समाचार छ ।

सचिव झाका अनुसार स्वकीय सचिव बुढाले मन्त्रीको आदेश भन्दै पटक पटक होटलमा भएको फजुल खर्च भुक्तानी गर्न दबाव दिने गरेका थिए । बुधबार पनि उनले त्यसैगरी वीरेन्द्रनगरको एउटा होटलमा भएको मदिरासहितको बिल भुक्तानी गिर्न दबाव दिए ।

कर्मचारीको तलब नबढ्ने

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष निजामती कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

तलब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका प्रनिनिधिलाई उनले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएको कारोबारमा खबर छ । उक्त अवसरमा युनियनले आफ्नो १८ बुँदे माग राखेको थियो । निजामती कर्मचारी ऐनले नै प्रत्येक दुई वर्षमा महँगीको अवस्थालाई हेरेर कर्मचारीको तलब सुविधा बढाउने व्यवस्था गरेकोले पनि आगामी आवमा कर्मचारीको तलब सुविधा बढाउनुपर्ने उनीहरुको तर्क छ ।

काराेबार दैनिकले नेपाल वायुसेवा निगमले चिनियाँ वाई–१२ ई जहाज उडानका लागि ल्याउन लागेको चिनियाँ क्याप्टेनहरु अयोग्य भएको ठहर गर्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमले ल्याउन लागेको पाइलट कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) बाहकमात्रै रहेको भन्दै अनुमति दिन अस्वीकार गरेको हो ।

निगमले चिनियाँ वाई १२ ई जहाज उडान गर्न ल्याउन लागेको पाइलट मापदण्डविपरीतका सीपीएल लाइसेन्समात्रै रहेको खुलेको थियो । प्राधिकरणको नियममा नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट लाइसेन्स अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर चिनियाँ पाइलटसँग सबै योग्यता नभएको पाइएको थियो ।


तपाईको प्रतिक्रिया