(सुरज बर्जचार्य) ०५ जेेेठ २०७५, रसुवा । सरकारी कार्यालयमा तातो चिसो सोध्ने कुरा तपाईलाई बिश्वास नलाग्न सक्छ तर जिल्ला प्रशासन कार्यालय रसुवाले यस्तै नमूना काम गरेर सेवाग्राहीको मन जित्ने कार्यको शुभारम्भ गरेको छ । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमध्ये सम्भवत: सबैभन्दा कम उमेरका प्रमुख जिल्ला अधिकारीको रुपमा कृष्ण पौडेल रसुवामा रहेका छन् । सेवाग्राहीको सन्तुष्टी नै कर्मचारीको लक्ष हुनुपर्ने भन्दै उनले जिप्रकामा यस किसिमको व्यवस्था गरेपछि सेवाग्राहीहरू दंग परेका छन् । सेवाग्राहीलाई लक्षित गरी कार्यालयले फ्रि वाइफाई, सेनटरी प्याड, फष्ट एड र तातोचिसोको व्यवस्था मिलाएको छ । सेवाग्राहीको स्वास्थ्य र रुचीलाई मध्येनजर गर्दै सेवाहरुको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

‘कार्यालयमा आएका सेवाग्राहीको रुची अनुसार कालोचिया, तातोपानी वा चिसोपानी निशुल्क दिने व्यवस्था मिलाएका छौँ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘यसले कार्यालय र सेवाग्राहीबिच आत्मियता बढ्नेछ ।’ कार्यालयले सेवाग्राहीको लागि फ्रि वाइफाइको समेत व्यवस्था मिलाएको छ । सेवा प्रवाहको क्रममा सेवाग्राहीको चाँप रहेको अवस्थामा सेवाग्राहीलाई दिक्क नलागोस भनेर फ्रि वाइफाइको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । फ्रि वाइफाइका लागि नेपाल टेलिकमसँग उच्च गतिको इन्टरनेट सञ्चालनबारे नियमित सम्पर्क भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सुरु गरिएका सेवाको प्रभावकारीता बारे नियमित अवलोकन तथा अनुगमन हुने उनले जानकारी दिए । कार्यालयको महिला शौचालयमा स्यानेटरी प्याडको व्यवस्था गरेको छ । सेवा लिन आएको समयमा महिला महिनावारी हुँदा समस्या हुने गरेकाले स्यानेटरी प्याडको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयमा आएका सेवाग्राहीको स्वास्थ्यमा समस्या आउँदा प्राथमिक उपचारका लागि ‘प्राथमिक उपचार सेवा समेत सुरु गरेका छ । ‘प्राथमिक उपचारका लागि पेन किलर, सिटामोल लगायतका औषधी व्यवस्था गरेका छौँ, उनले भने, यसले सेवाग्राहीलाई सामान्य स्वास्थ्य समस्या आउँदा आत्तिन पर्दैन ।’ कार्यालयमा ब्रेष्ट फिडिङ र सूचना केन्द्र यसअघि नै सञ्चालनमा आइसकेको छ ।


तपाईको प्रतिक्रिया