२०७५ बैशाख २९ शनिवार, बेथानचोक । अंग्रेजी विषय शिक्षण गर्ने शिक्षकहरुको संस्था ‘नेल्टा’को आयोजनामा बेथानचोक गाउँपालिकामा एक दिने अंग्रेजी शिक्षण कार्यशाला शनिवार सम्पन्न भएको छ ।

अंग्रेजी भाषा शिक्षणमा सिकाईको तत्परता विषयक गोष्टिमा नेल्टाका केन्द्रीय समितिका बरिष्ट उपाध्यक्ष डा लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यमा संचालन भएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिका ३२ ओटा विद्यालयका आधारभूत तह देखि माध्यमिक तह सम्म अध्यापन गराउने ५२ जना शिक्षकहरुको सहभागिता रहेको थियो । दुइ ओटा सेक्सनमा संचालित कार्यशालामा पहिलोमा डा लक्ष्मण ज्ञवाली तथा दोस्रो सेक्सनमा नेल्टा काभ्रेका उपाध्यक्ष विशाल घिमिरे सहजीकरण गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि बेथानचोक गा.पा अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार अत्यावश्यक भएको बताउँदै अंग्रेजी विषयलाई प्रभावकारी बनाउन अत्यावश्यक रहेको बताए ।नेल्टा काभ्रेका सदस्य तथा कार्यशाला संयोजक गोविन्द प्रसाद शर्माले सामुदायिक विद्यालयमा प्रभावकारी ढंगले अंग्रेजी विषय पढाउन सक्ने हो भने विद्यार्थीको आर्कषणमा कुनै कमी नहुने बताए । कार्यक्रममा नेल्टा काभ्रेका सदस्य महेन्द्र थिङ लगायतले सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षणको आवश्यकता विषयमा प्रकास पारेका थिए । ओएसिस तथा हिमालय प्रकाशनको सौजन्यमा बेथानचोक गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो । कार्यक्रममा नेल्टाको वार्षिक कार्ययोजना सहितको भित्ते पात्रो सार्वजानिक गरिएको थियो । कार्यक्रम नेल्टा काभ्रेका अध्यक्ष अग्नी प्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन नेल्टा काभ्रे सचिव माधव लामिछानेले गरेका थिए ।


तपाईको प्रतिक्रिया