नेपाली समाजमा मृत श्रीमान्को सम्झनामा सिंगो जीवन बाँझै बिताउनुपर्ने पीडा बोकेर बाँचिरहेका महिलाहरू थुप्रै छन् । यति मात्र नभएर अल्पायुमै श्रीमान्को निधन हुँदा अनेक बुहार्तनबाट उनीहरूलाई सताइन्छ । समाजले सोझो नजरले समेत हेर्दैन । समाजको यस्तो परम्परावादी मान्यता र दृष्टिकोणलाई चुनौती दिँदै उमेर भएका बुहारीलाई सासुससुराले नै विवाहको तजबीज मिलाएर अन्माउने गरेको समाचारहरू फाट्टफुट्ट भए पनि आउने क्रम सुरु भएको छ । यस्तो सकारात्मक सन्देश दिने अर्को समाचार थपिएको छ, कपिलवस्तु शिवराज नगरपालिकाको । पूर्वशिक्षक श्याम गुप्ताले २९ वर्षकी बुहारी किरणको मन खोलेर विवाह गरिदिएका छन् । यसले गुप्तालाई आनन्द र खुसी त मिलेको छ नै । समाजमा नौलो सन्देश गएको छ । वास्तवमा गुप्ताले शिक्षित र चेतनशील नागरिक हुनुको सामाजिक दायित्व निर्वाह गरेका छन् ।

जोसुकैको अल्पायुमा निधन अप्रिय घटना हो । योजनाबद्ध रूपमा कसैको पनि कम उमेरमा निधन हुने कुरा हुँदैन । विभिन्न कारणले मानिसको अल्यायुमा निधन हुन्छ । तर, यस्तोमा श्रीमती गुमाएका पुरुषहरू श्रीमतीको मृत्यु भएको केही दिनमै अर्को श्रीमती भिœयाउने योजना बुन्छन् । उसले निःसंकोच अर्की श्रीमतीसँग लगनगाँठो कस्छ । यसमा समाजको कुनै रोकतोक हुँदैन । घरपरिवार र आफन्तबाटै श्रीमती गुमाएका पुरुषलाई नयाँ जोडीका लागि प्रोत्साहित गर्ने काम हुन्छ । आफू जुनसुकै उमेरको भए पनि श्रीमती गुमाएका श्रीमान्लाई फेरि विवाह गर्न सामाजिक छुट छ । कुनै टीकाटिप्पणी हुँदैन । तर, महिलाको हकमा समाज अझै अत्यन्त निर्दयी छ । विवाह गरेको महिना दिन नपुग्ने कुनै कारणले श्रीमान् गुमाएका महिलाले अर्को विवाह गर्ने कल्पनासम्म गर्न सक्दिनन् । उसले आफ्नो जीवनसाथीसँगको वियोगको पीडा त खप्नुपर्छ नै सँगसँगै समाजले समेत अनावश्यक टीकाटिप्पणी गरेर उसको पीडामा थप पीडा थपिरहेको हुन्छ । एकल महिलाले अर्को विवाह गर्दा अल्पायुमा निधन भएका पतिको आत्माले शान्ति नपाउने, पत्नी हुनुको धर्म पूरा नहुनेजस्ता अनेक सामन्ती संस्कारका मान्यताहरू अगाडि सार्ने काम गरिन्छ । विधुवाले सिन्दुर, पोते, टीकालगायतका श्रृंगार गर्न र कुनै रातो पहिरन लगाउन नहुने सामाजिक मान्यता तोडिन सकेको छैन । धर्म, संस्कृति, परम्पराका आधारहीन संस्कारको घेराबन्दीमा पारेर कम उमेरमै विधवा बनेकी महिलालाई रंगहीन र निरस जीवन बाँच्न बाध्य पारिन्छ । उनीहरूको भविष्य, रहर, सपनाको कुनै सुनुवाइ हुँदैन ।

तर, अब समाज ढिलै भए पनि फेरिँदै छ । पूराना मूल्य मान्यतालाई चुनौती दिँदै त्यसलाई परिवर्तन गर्ने काम हुन थालेको छ । कपिलवस्तुका श्याम गुप्ताजस्ता शिक्षकको बुहारी अन्माउने कदमले यही संकेत गरेको छ । कम उमेरमा पति गुमाउने कल्पना कुनचाहिँ पत्नीले गरेको हुन सक्छ र ? कुनै दुर्घटनाको कारणले श्रीमान् गुमाउँदैमा उमेर भएका बुहारीहरूले बाँकी जीवन यत्तिकै पीडामा बाँच्नुपर्छ भन्ने मान्यतालाई अब पन्छाउन नसकेसम्म समाज कसरी विकसित र सभ्य बन्न सक्छ ? सामाजिक रूपान्तरणको यो अभियानलाई अझ तीव्र पार्नका लागि श्याम गुप्ताजस्ता साहसिक ससुराहरूको अग्रसरता अति खाँचो छ । यसो हुन सकेमा मात्र थुप्रै किरणहरूले नयाँ जीवन पाउनेछन् । यस्तै कदमले सामाजिक क्रान्तिको अभियान तीव्र बन्न सक्छ । समाजभित्रका यस्ता रुढ संस्कृतिलाई विस्थापन गर्न नसकेसम्म राजनीतिक क्रान्तिले जतिसुकै उपलब्धि हासिल गरिएको चर्चा गरिए पनि त्यसले उन्नत समाजको निर्माण गर्न सक्दैन । यसैले गलत मूल्यमान्यता भत्काएर सामाजिक रूपान्तरणका लागि अघि बढेका श्याम गुप्ताजस्तालाई राज्यले पनि प्रोत्साहित गर्नुपर्छ । #राजधानी


तपाईको प्रतिक्रिया