२०७५ बैशाख २० बिहीवार धुलिखेल । विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेपछि युनेस्कोले हरेक वर्ष मे ३ का दिन विश्वभर यो दिवस मनाउँदै आएपनि नेपालमा भने यो दिवस सन् १९९६ देखि मनाउन थालिएको हो । यस वर्षको प्रेस दिवसको अन्तर्राट्रिय नारा ‘शक्तिको निगरानी : सञ्चारमाध्यम, न्याय र विधिको शासन’ भन्ने रहेको छ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघले देशभरीका शाखा मार्फत कार्यक्रम आयोजना गरेको छ । काभ्रे लगायत सबै जिल्लामा बिहान प्रभातफेरि तथा अन्तरक्रिया र छलफल कार्यक्रम गरिएका छन् ।

पत्रकार महासंघ काभ्रे शाखाले विहिबार साँझ बनेपास्थीत कार्यालयमा दिप प्रज्वलन गर्दैछ । प्रेस कर्मका क्रममा मारिएका पत्रकारको सम्झनामा दिप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गरेको काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सीनाले जानकारी दिनुभयो । त्यस्तै तामाङ पत्रकार संघ काभ्रे शाखाले पनि एक शुभकामना सन्देश जारी गर्दै पत्रकारलाई अझै स्वतन्त्रपुर्वक कलम चलाउने अवस्था नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष जगत तामाङले शुभकामना सन्देशमार्फत सम्पुर्ण पत्रकारहरुलाई अविचलित भई आफ्नो कर्ममा लाग्न पनि आग्रह गर्नुभएको छ । शुभकामना सन्देश सहितको विज्ञाप्तीमा “पेशागत हकहितका लागि गोलबन्द हुन त आवश्यकनै छ यद्यपी राज्यले थिचोमिचोमा राख्दै आएका आफ्ना समुदायप्रतिको न्यायका खातिर तिनको उत्तरदायित्वलाई कदापी भुल्न मिल्दैन,यसमा पनि उत्साह मिलोस्” भन्ने उल्लेख छ । इम्नेष्टि इनरनेशनलले पनि विश्वमा प्रेस स्वतन्त्रताका अवस्थाका विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ । प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका सम्पूर्ण सञ्चारकर्मीलाई शुभकामना दिनुुभएको छ । राज्यमन्त्री बाँस्कोटाले प्रेस विज्ञप्तिमा निकालेर पेसागत दायित्व निर्वाहको सिलसिलामा विश्वभर ७९ जना पत्रकारको हत्या भएको उल्लेख गर्दै उनीहरूप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

पत्रकारको सम्मान, प्रोत्साहन र सामाजिक सुरक्षाका लागि पनि सरकार गम्भीर भएको मन्त्री बास्कोटाको विज्ञप्तीमा उल्लेख छ ।अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसकै सन्दर्भमा नेपाल पत्रकार महासङ्घले जारी गरेको शुभकामना सन्देशमा यस वर्ष सम्पन्न तीन तहको निर्वाचनको सन्दर्भमा राज्यपक्षबाट नै प्रेस स्वतन्त्रता हननका घटना बढी भएको टिप्पणी गरेको छ । महासंघले २०१७ मे ४ देखि २०१८ मे २ सम्म नेपालमा प्रेस स्वतन्त्रता हननका ६२ घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ । यस्ता घटनामा सबैभन्दा बढी पत्रकारमाथि धम्की र दुव्र्यवहारका १९ घटना भएका छन् । भौतिक आक्रमणका १७ वटा घटना र पत्रकार पक्राउका १६ वटा घटना भएको उल्लेख गरेको छ । महासघंले प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभई समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको उल्लेख गरेको छ । महासघंले राष्ट्रिय आमसञ्चार नीति २०७३ को कार्यान्वयन एवं सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि नेपाल सरकारसँग माग पनि गरेको छ ।


तपाईको प्रतिक्रिया