बनेपा । राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । बनेपामा सम्पन्न अधिवेशनले कलाकार निर्देशक तथा गीतकार अमरकृष्ण चन्दको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ चुनिएका नयाँ कार्यसमितका सदस्यहरुमा उपाध्यक्ष विक्रम गौतम, सचिव दिनेश लामा, सह सचिव सावित्री राना, कोषाध्यक्ष सविता ढुङ्गाना, सह कोषाध्यक्ष शर्मिला लामा रहेका छन् । यस्तै सदस्यहरुमा रश्मी तामाङ्ग, अनिसा तामाङ्ग, संकल्प तामाङ्ग थिङ्ग रहेका छन् ।

काभ्रेका अधिकांश कलाकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटाले सबै कलाकारहरु एकजुट भई आफ्नो हकहितको लागि अघि बढ्नुपर्ने अवस्था आएको बताए । कलाकारितामा लागेर कलाकारले अहिलेसम्म समाज र देशबाट केहि पाउन नसकेको तर देश र समाजलाई आफ्नो अमूल्य समय र कला दिएको धारणा राखे । कलाकारलाई राष्ट्रले कलाकारको हक हितको लागि आवश्यक निति निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता रहेकोले सरकारलाई दवाब सिर्जना गर्नुपर्ने बताए ।

सोमबार बनेपामा सम्पन्न राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको दोस्रो जिल्ला अधिवेशनमा अधिवेशनमा प्रमुख अतिथि सापकोटा, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय महासचिव श्याम धिताल, सचिव गोविन्द दुलाल, केन्द्रिय सदस्य दीपक रिमाल, गायक हरि कर्माचार्य लगायतले नेपाली कला क्षेत्र तथा सांगीतीक क्षेत्रका समसामयिक समस्या तथा चुनौती बारे आ–आफ्ना धारणा राखेका थिए ।
सोहि कार्यक्रममा निवर्तमान अध्यक्ष विशाल थिङ्गले नवनिर्वाचित अध्यक्ष अमरकृष्ण चन्दलाई पदभार हस्तान्तरण गरेका थिए भने केन्द्रिय सचिव गोविन्द दुलालले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रमको सहजिकरण केन्द्रिय सदस्य शर्मिला श्रेष्ठले गरेका थिए ।


तपाईको प्रतिक्रिया