काठमाडौँ – सोमवार अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ताले बग्गीमा चढेर फिल्म ‘ह्याप्पी डेज’ को प्रचार गरेका छन् ।

पटक–पटक प्रदर्शन मिति सर्दै अन्ततः बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको थप हाइप सृजना गर्न कलाकारसहितको टोलीलाई ललितपुर र काठमाडौँको विभिन्न स्थानमा बग्गी चढाएर घुमाइएको छ ।

बग्गीमा प्रियंका र सञ्जय सवार थिए । अभिनेता दयाहाङ राई भने आफ्नो व्यस्त सेड्युलका कारण रथ यात्रामा शहर घुम्न सकेनन् । विहान १० बजे लगनखेलबाट सुरु भएको रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत भएको थियो ।

पत्रकारसँग कुराकानीको क्रममा प्रियंकाले बग्गीमा यात्रा गर्दा खुसी महशुस गरेको बताइन् । उनले भनिन्, “बाटोमा हामीलाई देखेर धेरै आश्चर्यमा पर्नुभएको थियो । थाहा नभएकाहरुलाई पनि फिल्म “ह्याप्पी डेज” बैशाख १४ मा हलमा लाग्दै रहेछ भने जानकारी भयो । खुसी लाग्यो दर्शकसँग फेरि पनि प्रत्यक्ष साक्षात्कार गर्न पाएँ ।”

निर्देशक मिलन चाम्सले फरक शैलीको प्रचारले दर्शकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएकोमा खुसी व्यक्त गरे । फिल्मको प्रदर्शनका लागि लण्डनबाट नेपाल आएका निर्माता बिपी खनालले “ह्याप्पी डेज” को सुन्दर प्रचार शैली झैँ फिल्म पनि लोभलाग्दो बनेको बताए ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको फिल्ममा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।


तपाईको प्रतिक्रिया