(सुरज श्रेष्ठ) १० बैशाख २०७५, (कोशीदेखा) काभ्रेपलाञ्चोक । काभ्रे प्रदेश न.३ को सांसद माननीय लक्ष्मन लम्साल सरकारी घोषणा अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको अभिभावक बन्दै विद्यार्थी भर्ना कार्यक्रम शुरु गरेका छन् ।

 

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा न. १३ को कोसिदेखामा रहेको श्री राम उच्च माध्यमिक विद्यालयमा लम्साल अभिभावक बन्दै सौगात तामांगलाई कक्षा १ मा भर्ना गरेका छन् भने  विद्यालयका प्रधानाध्यापक राजमान तामांगले पनि दिवान सिबभक्तीको अभिभावक बन्दै शिशु कक्षा (बाल कक्षा) मा भर्ना गरेका छन् । सौगात र दिवानलाई आवश्यक पर्ने शैक्षिक सामाग्री हस्तान्तरण पछि भर्ना गराउँदै माननीय लक्ष्मन लम्साल र प्रधानाध्यापक राजमान तामांग अभिभावक बनेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका जनप्रतिनिधिहरुलाई नयाँ शैक्षिक सत्र अनुसार बालबालिकाको अभिभावक बन्न अनुरोध गरेपछि जिल्लामै रहेको श्री राम उच्च माध्यमिक विद्यालयमा जनजाति सिमान्तकृत समुदायमा जन्मिएर आर्थिक विपन्नता भएको परिवारका सदस्य सौगात र दिवानको सांसद लक्ष्मन लम्साल र प्रधानाध्यापक राजमान तामांग अभिभावक बनेका हुन् । जिल्लाका विभिन्न स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरु अभिभावक बन्दै बालबालिकाहरुलाई नयाँ भर्ना गराएका छन् ।

सोमबार आयोजित कार्यक्रममा सांसद लम्सालले एक कार्यक्रमको आयोजना गरी सौगातको अभिभावक बन्ने घोषणा गरेका थिए । सौगात र दिवानलाई वर्षभरी आवश्यक पर्ने पढ्न बाध्य नहुने गरि स्टेसनरी सामान र  पैसा हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै माननीय सांसद लम्साले नागरिकद्वारा नागरिकको उत्तरदायित्व बहन गर्नुपर्ने बताउँदै, सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्ने, एक जनाले थुकी सुकी, सय जनाले थुकी नदी भने झैँ हामीले सक्नेजतीलाई सहयोग गर्ने पर्ने  बताए । कक्षा १ देखि १० सम्म पूर्ण अंग्रेजी माध्यम र कक्षा ६ देखि कक्षा १० सम्म नेपाली र अंग्रेजी माध्यम दुबैबाट अध्यापन गराउँदै आएको श्री राम उच्च माध्यमिक विद्यालयमा सिमान्तकृत समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएका छन्  । प्रदेश न.३ को सांसद माननीय लम्सालले सौगातको शैक्षिक क्षेत्रमा आवश्यक पर्ने सबै रकम सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । त्यस्तै वडा अध्यक्ष, समाज सेवीले जनप्रतिनिधि र सरकारी कर्मचारी सबैका सन्तानलाई सामुदायिक विद्यालयमै भर्ना गरी सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्ने घोषणा गरेको छ । जिल्ला शिक्षा कार्यालयले पनि विद्यालय भर्ना अभियान तिब्र बनाउने निर्णय गरेको छ । विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकाहरु (५—१४ वर्ष) लाई विद्यालयमा भर्ना गराइ बालमैत्री विद्यालय वातावरण निर्माण गरी हरेक बालबालिकालाई गुणस्तरीय शिक्षाको प्रत्याभूत गराउन सरकार अभियानमा लागेको हो ।

नेपालको संविधानले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको अधिकारको प्रत्याभूत गरेको छ । “एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाईमा स्थायित्व” भन्ने नारालाई स्वीकार गरी सबैले आ—आफ्नो सामिाजक दायित्व निर्वाह गर्न यस जिल्लामा रहेका विपन्न, गरीब, सीमान्तकृत, लोपोन्मुख माझी, पहरी, दनुवार, हायू जस्ता समूह बालबालिकाहरु, अल्पसंख्यक, शिक्षाको पहुँचबाट बाहिर रहेका, आर्थिक अवस्था कमजोर भएका, अपाङ्गता भएका लगायत शिक्षाको अवसरबाट बञ्चित विद्यालय उमेरका बालबालिका मध्ये कम्तिमा एकजना बालक वा बालिका पहिचान गरी विद्यालयमा भर्ना गर्न र भर्ना भएका बालबालिकाको पठन पाठनको निरन्तरतालाई सुनिश्चित गर्न नेपाल सरकारबाट आह्वान भएकोले नेपाल सरकारका मन्त्रीहरु, सम्पूर्ण राजनीति दलका पदाधिकारीहरु, संघ, प्रदेश तथा स्थानीय तहका निर्वाचित जन प्रतिनिधिहरु विशेष गरी पाँचखाल र मण्डन देउपुर नगरपालिका तथा भुम्लु, चौंरीदेउराली, तेमाल र रोशी गाउँपालिका, जिल्ला शिक्षा समिति, स्रोतव्यक्तिहरु, उद्योगी, व्यापारी, बुद्धिजीवी, नागरिक सामाज, सञ्चारकमीर्, रंगकर्मी, कलाकर्मीं, प्राध्यापक, शिक्षाविद्, पेशाकर्मी, राष्ट्रसेवक कर्मचारी, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन, सरकारी एवं गैह्र सरकारी संघ संस्था, शिक्षक महासंघ, विद्यालय व्यवस्थापन समिति, नेपाल शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत सम्पूर्ण शिक्षाप्रेमी नागरिकहरुमा शिक्षा विकास तथा समन्वय इकाई धुलिखेलले आब्हान गर्ने निर्णय गरेको थियो ।

काभ्रे जिल्लाको विद्यालय तहको शैक्षिक तथ्याङ्क, २०७४ अनुसार प्राथमिक उमेर समूह (५—९ वर्ष) का विद्यार्थीको खूद भर्ना दर ९८ प्रतिशत रहेको छ । अझै पनि ५ वर्ष देखि ९ वर्ष सम्मका बालबालिकाहरु मध्ये २ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेका छन् । त्यसैगरी आधारभूत तह (कक्षा १—८) अर्थात ५—१२ वर्ष उमेर समूहका बालबालिकाको विद्यालयमा खूद भर्ना दर औषत ९२.१ प्रतिशत पुगेको छ भने बाँकी ७.१ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेको देखिन्छ । यस वर्षको भर्ना अभियान कार्यक्रमले सबै बालबालिकाहरुको विद्यालयमा पहुँचको अपेक्षा गरिएको छ । सबै विद्यालयहरुमा पाठ्यपुस्तकको रकम स्थानीय तहबाट निकासा भई सकेको छ ।


तपाईको प्रतिक्रिया