०९ बैशाख २०७५, नमोबुद्ध । प्याक्स अर्थ्, तिलगंगा आँखा प्रतिष्ठान तथा नमोबुद्ध नगरपालिका वडा नं ५ कार्यालयको आयोजनामा कानपुरमा अवस्थित कानपुर उ.मा.वि.मा एक दिने “नमोबुद्ध आँखा शिविर” सम्पन्न भएको छ । शिविरमा ३ वर्षको बालिकादेखि १०० वर्षको वृद्धासम्म गरी १२२ जनाले आँखाको निःशुल्क परिक्षण र उपचार गरिएको प्याक्स अर्थ्का अध्यक्ष सुजन कोइरालाले बताए । तिलगंगा आँखा प्रतिष्ठानका आँखा प्राविधिक सरोज देवकोटा नेतृत्वको टोलीले बिरामीको आँखा परिक्षण गरेको थियो ।

जसमध्ये १३ जनाको आँखामा मोतिबिन्दु भेटिएको थियो । नमोबुद्ध नगरपालिकाको वडा नं ५ का स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको आँखा शिविरमा नमोबुद्ध नगरपालिकाको अन्य वडालगायत तेमाल गाउँपालिका, धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाबाट पनि केही स्थानीयहरु आँखा परिक्षण गराउन आएका थिए । शिविरबाट छानिएका मोतिबिन्दुका १३ मध्ये १२ बिरामीको तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको टोलीद्वारा काठमाडौंमा निःशुल्क शल्यक्रिया गरिएको कार्यक्रम संयोजक मनोहर सापकोटाले जानकारी दिए ।


तपाईको प्रतिक्रिया