(सुमन तोलाङ्गे) २३ चैत २०७४, दोलालघाट । “प्राकृतिक,साँस्कृतिक,कृषि र व्यापार,दोलालघाट पर्यटन प्रवद्र्धन विकासको आधार” भन्ने नाराका साथ आज देखी दोलालघाट महोत्सव हुदै छ ।

आकर्षणका रुपमा रहने उद्योग/व्यापार स्टलहरु निर्माण, बाल उद्यान रमाइलो मेला, चमेना गृह, रयाफ्टिङ (बोटिड्ड) को व्यवस्था, स्वास्थ्य शिविर, हेलिकप्टरबाट समेत धार्मिक स्थल अवलोकन,स्थानीय झाँकी प्रर्दशन, कृषि प्रदर्शनी , सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकार सम्मान, नृत्य प्रतियोगिता लगायतको तयारी सकिएको आयोजक दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लवले जानकारी दिएको हो । चैत्र २३ देखि आगामी बैशाख ३ गतेसम्म संचालन हुने महोत्सवले भुकम्पपछि पनि दोलालघाट पर्यटकहरुका लागि योग्य छ भन्ने सन्देश प्रवाह गर्ने दावी गरिएको छ । ०७२ वैशाख १२ को भुकम्पबाट क्षति पुगेका दोलालघाट र आसपासका क्षेत्रको भौतिक संरचना निर्माणसंगै स्थानियवासी भुकम्पीय डर र त्रासबाट मुक्त भईसकेको बताईन्छ । केहि स्थानियहरुको आफ्नो आवास निर्माण सम्पन्न नभएपनि आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आवश्यक होटेल संरचना र स्थानियको मानसपटल स्वस्थ,चुस्त दुरुस्त भईसकेको स्थानिय बताउछन् ।

काभ्रे र सिन्धुपाल्चोकको पुरानो व्यापारीक केन्द्र पनि भएकोले निकै चहलपहल हुने दोलालघाट भुकम्पपछि केहि सुस्ताएको थियो । ईन्द्रावती,भोटेकोसी तथा सुनकोशीको संगम स्थलमा अवस्थीत दोलालघाटलाई प्राकृतिक छटाले भरिपुर्ण मानिन्छ । विशेषत तामाङ समुदायसंगै अन्य विभिन्न जातजातिको जीवनशैली,संस्कृति,जिव्रोमै अडिने ताजा परिकारले पनि पर्यटकको मन सहजै तान्न सक्दछन् । यसैकारण दोलाघाटमा वर्षेनी लाखौं आन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल रहने गर्दछ । यिनै विषयको उजागर गर्न दोस्रो पटक दोलालघाट महोत्सव हुन लागेको आयोजकले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया