१२ चैत्र २०७४,  । टिम दिल्ली डेयरडेभिल्समा आवद्ध सन्दीप लामिछानेले आईपीएलका सबै कुरा आफ्ना लागि नयाँ हुने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले आफूले पाएको अवसरले राष्ट्रिय टिमको प्रदर्शनलाई थप राम्रो बनाउने बताएका छन् ।

दिल्लीका प्रशिक्षक र म्यानेजरसँग कुरा भैरहेको बताउँदै सन्दीपले सबैको मायाले ‘फेन्टास्टिक’ अनुभव भैरहेको बताए । उनले आईपीएलमा खेल्न पाउनुलाई ‘च्यालेन्ज’ भन्दा पनि ‘अपर्चुनिटी’ भएको बताए । नेपाली टिमबाट नखेलेको भए आफूले यी अवसर नपाउने बताउँदै उनले भने, ‘नेपालको लागि नखेलेको भए यी सबै अवसर आउने थिएनन् । मेरो लागि सबैभन्दा महत्वपूर्ण नै नेपाली टिम हो ।’ वेष्ट इन्डिजको लिग सीपीएलसमेत खेल्न लागेका सन्दीपले भने, ‘मैले राम्रो गरें भने टिमको लागि राम्रो हुन्छ भनेर खेलिरहेको छु ।’

आफ्नो सफलताकाको कारण नै इमान्दारी भएको बताउँदै सन्दीपले इमान्दार भएर खेलेमा सफलता पाइने बताए । सन्दीपले आफूले पाएको सफलतामा राजु खड्काको ठूलो योगदान भएको बताउँदै नेपाली टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायके पनि आफ्नो आदर्श भएको बताए । सजिलो तरिकाले नेसनल क्याम्पमा पर्नु आफ्नो ‘लक’ भएको बताउँदै सन्दीपले भने, ‘ भाग्यमा बिश्वास गर्छु तर हार्डवर्क त चाहिन्छ ।’दिल्ली डेयरडेभिल्सले आईपीएल जितेमा आफ्नो अहिलेको अपेक्षा पूरा हुने पनि उनले बताए । बीस लाख भारतीय रुपैयाँमा दिल्ली डेयरडेभिल्समा आवद्ध भएका सन्दीप मंगलबार भारत जाँदैछन् । गौतम गम्भीर कप्तान रहेको दिल्ली डेयरडेभिल्सको पहिलो खेल किंग्स इलाभेन पञ्जाबसँग अप्रिल ८ मा हुनेछ ।


तपाईको प्रतिक्रिया