बेथानचोक । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले बैशाख २२ गते बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बेथानचोक गाउँपालिकामा बसेको महासंघको तेह्रौ नियमित बैठकले प्रथम प्रदेश अधिवेशनकै दिन बार्षिक साधारणसभा समेत गर्ने निर्णय गरेको अध्यक्ष मोतिराम तिमल्सिनाले जानकारी दिए । महासंघले चैत्र १६ गते स्थापना दिवस ध्यानकुटी आश्रममा रहेका जेष्ठ नागरिकका साथमा मनाउने निर्णय समेत गरेको छ । बैठकले महासंघका संस्थापक सदस्य गोकुल बास्कोटा सूचना तथा सञ्चार राज्यमन्त्री (क्याबिनेट) नियुक्त हुनुभएकोमा बधाई ज्ञापन समेत गरेको छ ।

स्थानीय तहसंग अन्तरक्रिया :

पत्रकार महासंघ काभ्रे स्थानीय तहसंग ‘स्थानीय सरकार र सञ्चार बिषयक’ अन्तरक्रिया शुरु गरेको छ । महासंघको बाह्रौ बैठकको निर्णय अनुसार महासंघले पहिलो पटक बेथानचोक गाउँपालिकाकाका जनप्रतिनिधीहरुसंग अन्तरक्रिया गरेको छ । कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष पे्रमबहादुर तिमल्सिनाले कानुनको अभावमा दैनिक कार्यसम्पादनमा केही समस्या भएको बताए ।

उनले कर्मचारी अभावका कारण थप प्रभावकारी सेवा दिन नसकिएको स्विकारे । उनले स्थानीय तहका बारेमा चासो राखेर अन्तरक्रिया गर्ने निर्णय गरेकोमा पत्रकार महासंघ काभ्रेलाई धन्यवाद दिए । प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्यले जिल्ला तहमा रहने कार्यलयले पनि स्थानीय तहसंग सहकार्य गर्नमा प्रभावकारी भुमिका नखेलेको गुनासो गर्दै सिमित श्रोत र जनशक्तिका भरमा काम गरिरहेको बताए । ६ वडामा २ जना मात्रै वडा सचिव कार्यरत रहेको जानकारी दिदै उनले जनप्रतिनिधीले नै कर्मचारीको रुपमा काम गरिरहेको बाध्यता सुनाए । वडा नं २ का अध्यक्ष भगवान घिमिरे, वडा नं ३ का अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा नं ५ का अध्यक्ष खजेञ्जी लामाले जनताको अपेक्षा धेरै भएकोले सोचे अनुसारको काम हुन नसकेको स्विकारे । कर्मचारीको अभाव झेलिरहेको समस्या सुनाउदै उनीहरुले जिल्लातहका कार्यलयका कारण भूकम्पपीडितले समयमा नै किस्ता पाउन नसकेको बताए ।

पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले स्थानीय सरकारका सम्भावना, समस्या र सञ्चारको भुमिका खोज्न अन्तरक्रिया गरेको बताउँदै काभ्रेका सबै स्थानीय तहमा सञ्चालन गरिने बताए ।


तपाईको प्रतिक्रिया