०५ चैत्र २०७४ – भक्तपुर । चक्रपथ परिक्रमा गर्दै बनेपासम्मको रुटमा चल्ने मयुर यातायातका तीन वटा बसमाथि भक्तपुरमा तोडफोड भएको छ।

सल्लाघारीदेखि जगाती क्षेत्रमा गुड्दै गरेका तीन वटा बसमाथि अज्ञात समूहले ढ्ङ्गा प्रहार गरेको यातायात व्यवसायी महासंघ काभ्रेका सचिव रामबहादुर केसीले जानकारी दिए। मोटरसाइकल सवार व्यक्तिले दुई वटा बसमा र पैदल आएका व्यक्तिहरुको समूहले एउटामा आक्रमण गरेको उनले बताए।

मयुर यातायातले यो रुटमा चैत १ गतेबाट मात्रै सेवा दिइरहेको छ। हिजो पनि गठ्ठाघरमा यही यातायातको एउटा बसमाथि ढुङ्गा प्रहार भएको थियो। यसअघि काभ्रेका विभिन्न बस व्यवसायी संघहरुले सुविधासम्पन्न ठूला बसहरु संचालन हुन लागेपछि विरोध जनाउँदै आएका थिए।

सो रुटमा बस संचालन नगर्न उनीहरुले दवाव दिँदै आएका थिए। संघबाट संचालित अधिकांश बसहरु पुराना छन्। मयुर यातायातले सुविधासम्पन्न नयाँ ठूला बसहरु संचालनमा ल्याएपछि यात्रुहरु ति बसमा आकर्षित हुँदै आएका छन्। यस्तो कार्यबाट आफूहरु विचल्लित नहुने र नियमित रुपमै गाडी संचालन गर्ने मयुर यातायातका अध्यक्ष मोहन बहादुर श्रेष्ठले बताए। आज भएको घटनाको बारेमा भक्तपुर प्रहरीलाई जानकारी गराइएको र प्रहरीले खोजी कार्य जारी राखेको श्रेष्ठले जानकारी दिए।


तपाईको प्रतिक्रिया