काठमाडौं । जिम्बाबेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले पाएको १९० रनको लक्ष्य पुरा गर्न नसक्दा पराजित भएको छ । आजको खेलमा नेपाल ४५ रनले नेदरल्यान्ड्ससँग पराजित भएको हो । सातौ स्थानको लागि जारी खेलमा नेदरल्यान्ड्सले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । जवाफमा नेपालले ४४.४ ओभरमा सबै वीकेट गुमाउँदै १४४ रन मात्र जोड्न सक्यो ।

टस जितेर ब्याटिङ थालेको नेदरल्याण्ड्सको सुरुवाती चरण खराव थियो । अन्तिम तिर खेलाडी सम्हालिएर खेल्दा नेदरल्याण्डले उक्त स्कोर बनाउन सकेको हो । नेदरल्याण्ड्सलाई रनमा समेट्ने क्रममा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै ललितराज बंशी र सन्दीप लामिछानेले समान २, २ विकेट लिए । प्रतियोगितामा पहिलो पटक मौका पाएका भेट्रान बलर शक्ति गौचनले १ विकेट लिए । एक दिवसीय मान्यता पाएपछि पहिलो पटक नेपालले आज नेदरल्यान्ड्सको सामना गरेको हो ।

बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपाल र नेदरल्याण्ड्सले यसअघि एकआपसमा ४ पटक ५० ओभरको खेल खेलेका छन् । जसमा नेदरल्याण्ड्स र नेपाल समान २ पटक विजयी भएका थिए ।


तपाईको प्रतिक्रिया