०२, चैत्र २०७४ – काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेकपा एमालेबाट ६ र माओवादी केन्द्रबाट ५ मन्त्री थप्दै प्रधानमन्त्री ओलीले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । दुई राज्यमन्त्री पनि नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री ओलीले एमालेका प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, रवीन्द्र अधिकारीलाई पर्यटन, रघुवीर महासेठलाई भौतिक पूर्वाधार, शेरबहादुर तामाङलाई कानुन तथा संसदीय व्यवस्था र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । यसैगरी, माओवादी केन्द्रका वर्षमान पुनले उर्जा तथा जलस्रोत, गिरिराजमणि पोखरेलले शिक्षा, शक्ति बस्नेतले वन, चक्रपाणि खनालले कृषि तथा शहकारी र विना मगरले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

एमालेका अधिकारी, तामाङ र विश्वकर्मा तथा माओवादी केन्द्रका खनाल र मगर पहिलो पटक मन्त्री भएका हुन् । यसैगरी, प्रधानमन्त्री ओलीले आजै तीन राज्यमन्त्री पनि नियुक्त गर्नुभएको छ । एमालेका गोकुल बास्कोटालाई सूचना तथा सञ्चार, पद्या अर्याललाई यूवा तथा खेलकुद र माओवादी केन्द्रकी रामकुमारी चौधरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

संघीय समाजवादी फोरमलाई पनि आजै सरकारमा भित्र्याउने प्रधानमन्त्रीको प्रयास भने सफल भएन । सत्तारुढ दलसँग धेरै विषयमा छलफल टुंगिन बाँकी रहेकाले सरकारमा सहभागि नभएको संघीय समाजवादीले जनाएको छ । फोरमसँग भागवण्डा मिलाउन भन्दै मन्त्रिपरिषद्ले हिजो यसअघि कायम १७ मन्त्रालयलाई टुक्र्याएर २० बनाएको थियो । तेस्रो विस्तारसँगै ओली नेतृत्वको मन्त्रिपरिषद् २१ सदस्यीय भएको छ ।


तपाईको प्रतिक्रिया